एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा, फुटबल सङ्घ र राखेपबीचको विवाद अन्त्य
काठमाडौँ, १ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको प्रतिबन्ध बिनाशर्त फुकुवा गरेको छ । शुक्रबार भएको उच्चस्तरीय छलफलपछि राखेपले एन्फालाई गरिएको निलम्बन फिर्ता लिने निर्णय गरेको हो ।
एन्फाका प्रवक्ता सुरेश साहका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार र एन्फा महासचिव किरण राईबीचको वार्तापछि सहमति जुटेको हो । मन्त्रालयमा भएको उक्त छलफलमा फुटबलको विकासका लागि सहकार्य गरेर अघि बढ्ने सहमति भएपछि राखेपले निलम्बन फुकुवाको निर्णय लिएको हो ।
यसअघि पङ्कजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिलाई राखेपले गत चैत ११ गते तीन महिनाका लागि निलम्बन गरेको थियो । तहगत निर्वाचन र विधान संशोधनका लागि दिएको निर्देशन अवज्ञा गरेको भन्दै राखेपले एन्फामाथि कारबाही गरेको थियो ।
राखेपले निर्देशन पालना गर्न ताकेता गरे तापनि एन्फाले गत चैत १३ गते नै निर्वाचन गर्ने अडान लिएपछि दुई संस्थाबीच विवाद चुलिएको थियो । निलम्बन फुकुवासँगै अब फुटबल सङ्घका नियमित गतिविधिहरू सुचारु हुने र राखेपसँगको चिसिएको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।