बालेन साहलाई भिन्तुना कार्यक्रममा बहिष्कार गर्न बांगेमुढावासीको अनुरोध
काठमाडौं, ६ कात्तिक । काठमाडौं महानगरपालिकाले जबर्जस्ती भत्काउन खोजेको कामपा २५ वडास्थित बांगेमुढा टोलको त्वाःछेँ भवन बचाउन स्थानीय टोलबासी मिलेर संघर्ष समिति गठन गरेको छ ।
त्वाःछेँ समितिका अध्यक्ष डा. रमेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको उक्त संघर्ष समितिमा साबिक २८ वडाका विभिन्न टोलको प्रतिनिधित्व रहने गरी १११ जना सदस्य रहेका छन् । यसमा साबिक २८ वडाका बांगेमुढा, न्ह्योखा, त्यंघः, खिंलँ, प्यंगःथां र नघल टोलको प्रतिनिधित्व रहेको छ ।
संघर्ष समितिले अब त्वाःछेँ बचाउन संघर्षका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।
गत दशैंका बेला महानगरपालिकाले डोजर ल्याई त्वाःछेँ भवनमा क्षति पुर्याएको थियो भने त्वाःछेँ समितिले उक्त कार्य विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले भवनमा कुनै क्षति नपुर्याउन अन्तरिम आदेश जारी गरेको थियो ।
तर वडा कार्यालयले अदालतको आदेशलाई समेत वेवास्ता गर्दै गएको हप्ता पुनः भवनमा ड्रिल गरी क्षति पुर्याएको थियो । महानगरपालिका ऐन कानुनलाई समेत वेवास्ता गर्दै गुण्डागर्दीकै शैलीमा अगाडि आएका कारण त्यसको प्रतिकार गर्न टोलवासी मिलेर यो संघर्ष समिति गठन गर्नुपरेको डा. श्रेष्ठले बताउनुभयो ।
उक्त त्वाःछेँ (सामुदायिक भवन) को निर्माण कार्यमा समेत सहभागी रहँदै आउनुभएका साबिक २८ वडा निवासी ८२ वर्षीय गुह्यरत्न शाक्यले २८ वडाभित्र रहेको ६ वटा टोल मिलेर उक्त त्वाःछेँ रहेको जग्गाको संरक्षण र भवन निर्माण गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘स्थानीयवासी मिलेर निर्माण र संरक्षण गरिएको यो ठाउँमा वडा कार्यालयको कुनै पनि योगदान रहेको छैन । वडालाई त स्थानीयवासीले काम गर्न वास मात्रै दिएको हो । अहिले वडाले नै टोलवासीलाई निकाल्ने प्रयास गरिरहेको छ ।’
उक्त त्वाःछेँ भवनमा एकताका नेपालभाषा मंकाः खलःको कार्यालय पनि राखिएको थियो । आजभन्दा ४३ वर्ष अघि मंकाः खलःको सोही कार्यालयमा बसी अभियन्ताहरुले नेपाल संवत्को नयाँ वर्षमा भिन्तुना र्याली निकाल्ने योजना बनाएका थिए ।
अहिले महानगरपालिकाले यस्तो ऐतिहासिक भवनलाई समेत गैरकानुनी ढंगले डोजर लगाई भत्काउने प्रयास गरेका कारण अहिले नजिक आइरहेको नेपाल संवत् नयाँ वर्षको भिन्तुना कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बहिष्कार गर्न पनि संघर्ष समितिले अनुरोध गरेको छ ।