तिहारअघि नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैं, ६ कात्तिक । तिहार अघिको अन्तम कारोबार दिन धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

आज नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर १८५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८८ अङ्कले बढेर ३६५ दशमलब ९३ मा पुगेको छ ।

शेयर बजारमा आज दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

त्यस्तै, नवील बैंक रु ३ करोड ३८ लाख ८० हजार एक सय १, नेपाल बैंक रु ३ करोड २० लाख १८ हजार ७ सय ७०, एनआइसी एशिया बैंकको संस्थापक शेयर रु २ करोड २९ लाख ५० हजार ८ सय सात र गरिमा विकास बैंकको रु १ करोड ५१ लाख ११ हजार ७ सय ३७ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जनउत्थान सामुदायिक लघुवित्त चार दशमलब १५ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलब ५५, अभियान लघुवित्त सात दशमलब ६०, माहुली लघुवित्त चार दशमलब शून्य तीन, वेस्ट फाइनान्स तीन दशमलब १८ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब शून्य तीन प्रतिशतले गुमाएका छन् ।