अशक्तताको नाममा मतदान गर्नेप्रति सचेत हुनु: निर्वाचन आयोग
काठमाडाैं, २४ कात्तिक । निर्वाचन आयोगले अशक्तताको नाममा मतदान गर्नेप्रति सचेत हुन निर्देशन दिनुभएकाे छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएकाे हाे ।
कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी अशक्तहरुको नाममा मतदान गरिदिएकोप्रति चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभएकाे हाे ।
प्रमुख आयु्क्त थपलियाले गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयाे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयाे । उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रस्तुत गर्न आग्रह समेत गर्नुभयाे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन प्रमुख आयुक्त थपलियाले लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयाे ।