अष्ट्रेलिया भ्रमण: दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ र दक्षिण अष्ट्रेलिया भिड्दै
काठमाडौँ, भदौ १९ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज आफ्नो दोस्रो एकदिवसीय खेलमा दक्षिण अष्ट्रेलियाको सामना गरिरहेको छ। डार्विनस्थित गार्डेन्स ओभलमा जारी खेलमा दक्षिण अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपाली टोलीले आजको खेलमा प्रमुख ब्याटर कुशल भूर्तेललाई विश्राम दिएको छ। उनको स्थानमा राशिद खानले मैदानमा उत्रिने मौका पाएका छन्। खेलको पछिल्लो अवस्था अनुसार, दक्षिण अष्ट्रेलियाले १५ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ५४ रन जोडेको छ। बलिङतर्फ नेपाल ‘ए’ का लागि राशिद खान र नारायण जोशीले समान एक–एक विकेट लिन सफल भएका छन्।
यस शृङ्खलामा नेपाल ‘ए’ आफ्नो पहिलो जितको खोजीमा छ। भ्रमणको पहिलो खेलमा नेपाली टोली अष्ट्रेलियाकै घरेलु टोली तास्मिनियासँग एक विकेटको झिनो अन्तरले पराजित भएको थियो। नेपालले शृङ्खलाको तेस्रो खेल आगामी आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध खेल्ने कार्यतालिका रहेको छ।
