साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भाेटेकाेशी बाढी प्रभावितको राहतका लागि ६० लाख रुपैयाँ सहयोग
काठमाडौँ, १९ भदौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भाेटेकाेशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएका नागरिकहरूको उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
कर्पोरेसनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्थ मन्त्रालयमार्फत उक्त राहत रकम हस्तान्तरण गरेको हो।
कर्पोरेसनका अनुसार कुल सहयोग रकममध्ये ५० लाख रुपैयाँ संस्थाको तर्फबाट र बाँकी १० लाख रुपैयाँ कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिएको हो। कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अर्थ मन्त्रालयलाई पत्र लेख्दै प्राकृतिक विपद्को यस कठिन घडीमा सरकारले गरिरहेको उद्धार र राहत कार्यमा ऐक्यबद्धता जनाउनुभएको छ।
आर्थिक सहयोगका अतिरिक्त साल्ट ट्रेडिङले बाढी प्रभावित दुर्गम क्षेत्रहरूमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति कार्यलाई समेत निरन्तरता दिइरहेको जनाएको छ। सडक सञ्जाल विच्छेद भएका स्थानमा समेत वैकल्पिक माध्यमबाट नुन, चिनी लगायतका सामग्री पुर्याउन कर्पोरेसन सक्रिय रहेको छ।
विगत साता आएको विनाशकारी बाढीले रसुवा र आसपासका क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएपछि विभिन्न सरकारी तथा निजी संस्थाहरूबाट राहत जुट्ने क्रम जारी छ। साल्ट ट्रेडिङले यसअघि पनि राष्ट्रिय सङ्कटका समयमा सरकारलाई सहयोग गर्दै आएको छ।
