बाढीको ९ दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाकाे जीवितै उद्धार
नुवाकोट, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विगत ९ दिनदेखि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ भित्र फसेका एक जनाको जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले अथक प्रयासपछि सुरुङभित्र थुनिएका सञ्जय शाहलाई शुक्रबार जीवितै बाहिर निकाल्न सफल भएको हो।
सुरुङबाट बाहिर निकालिए लगत्तै शाहलाई नेपाली सेनाको मेडिकल टोलीले कार्यथलोमै प्राथमिक उपचार सुरु गरेको छ। लामो समयदेखि भित्र थुनिएका कारण उनको शारीरिक अवस्था केही कमजोर देखिए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको बुझिएको छ। थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको छ।
सञ्जय शाहको उद्धारसँगै सुरुङभित्र अर्का एक जना पनि जीवितै रहेको बलियो सम्भावना देखिएको छ। गत भदौ १० गतेको भीषण बाढीले सुरुङको मुख थुनिदिएपछि आयोजनामा कार्यरत दर्जनाैँ कर्मचारी र कामदारहरू भित्रै हराइरहेका थिए।