सिंहदरवारले प्यूठानलाई देख्ने गरी भूमिका खेल्छुः सूर्य थापा

प्युठान, २७ कात्तिक । नेकपा (एमाले) का तर्फका प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापाले विकासमा पछाडि परेको प्यूठानलाई अब कस्तो बनाउने भन्ने बारेमा आफूसँग स्पष्ट खाका बनेको बताउनु भएको छ ।

आइतवार प्यूठान नगरपालिका ४ को वडास्तरीय चुनावी भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै थापाले यस्तो बताउनु भएको हो । उहाँले विगतमा आफ्नो पहलमा भएका विकासका योजना र आगामी दिनमा गर्ने योजनाका बारेमा मतदाताहरुलाई सुनाउनु भयो । ‘अबको प्यूठान कस्तो बनाउने हामीसँग स्पष्ट भिजन र दृष्टिकोण छ’,थापाले भन्नुभयो, ‘प्यूठानमा कति वटा पुल बनाउने, कति बाटा बनाउने, कति बाटा पक्की गर्ने, रोजगारीका सृजना कसरी गर्ने लगाएतका विषयमा हाम्रा लिखित प्रतिवद्धता छन् । प्रतिवद्धता बाहेकका क्षेत्रमा पनि जनताका सुझावलाई सिरोधार्य गरेर अघि बढ्छौ ।’

उहाँले आफू चुनाव जितेर गइसकेपछि सिंहदरवारले प्यूठानलाई देख्ने गरी आफूले भूमिका खेल्ने समेत मतदातालाई सुनाउनुभयो । ६४ वटै वडामा पुग्ने घरदैलो अभियान अन्तर्गत उहाँ ५९ औँ वडाको रुपमा प्यूठान नगरपालिका ४ मा पुग्नु भएको हो ।