बरुण नदीको बाढीले अरुण नदी थुनिँदा दुई किलोमिटर ताल, बरुण बजार जोखिममा
बरुण बजार । संखुवासभाको भोटखोला गाउँपालिकाकोाल स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ । बरुण नदीमा आएको बाढीले अरुण नदी थुनिएपछि कारण झण्डै २ किलोमिटरको ताल बनेको छ भने बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ । बजारको सिंगो बस्ती जोखिममा छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार ढुंगासहित आएको बाढीले बिहीबार अपराहृन करिव ४ बजेतिर अरुण नदीको बहाव रोकिएको छ । हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यकिन हुन सकेको छैन ।
बरुण नदीमा ढुंगा माटोसहितको बाढी आएर अरुण नदीको बहाबलाई रोकेको छ ।
सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तर पर्ने घटनास्थलमा विहान मात्र प्रहरी टोली पुगेको छ । प्रहरीका अनुसार अरुण नदीको बहाव रोकिँदा झण्डै २ किलोमिटरको ताल बनेको छ ।
यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिनुभएको छ।
अरुण नदी दुई दिनदेखि थुनिएपछि एक्कासी फुट्दा आउने बाढीले तराईका जिल्लामा बढी क्षति गर्ने भएकाले अहिले तराईका जिल्लामा कोसी किनारका स्थानीयलाई ‘हाइ अलर्ट’मा रहन प्रशासनले उर्दी जारी गरेको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले अरुण नदीमा बनेको ताल फुटेर एक्कासी आउँदा हुने क्षति न्यूनिकरण गर्न कोसी किनारका स्थानीयलाई हाइ अलर्टमा रहन सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नदीको तटिय क्षेत्रका बासिन्दालाई चनाखो रहन र उद्धारका लागि स्थानीय तथा सुरक्षा निकायलाई एलर्ट रहन निर्देशन समेत दिएको छ । नदीको किनारमा माछा मार्न, गाईबस्तु चराउन र डुंगामा आवतजावत गर्न अनिश्चितकालका लागि रोक लगाएको छ ।
संखुवासभाको मोटखोला गाउँपालिकामा पर्ने अरुण नदीमा बिहीबार दिउँसोबाट ग्रेगरसहितको बाढीले अरुण नदीको बहाब रोकी झण्डै तीन किलोमिटरको कृतिम तलाउ बनेकोले त्यो फुट्दा हुनसक्ने विपत्ति न्यूनिकरणका लागि सुनसरी प्रशासनले हाइ अलर्ट सूचना जारी गरेको हो ।
नदी तटका जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानको खोजी गर्न समेत दैवीप्रकोप उद्धार समितिले सुरक्षा निकायलाई आग्रह गरेको छ । चतरामा रहेको पानीको सतह नाप्ने रडार समेत बिग्रिएकोले तत्काल मर्मतका लागि जल तथा मौसम विज्ञान विभागमा जानकारी समेत गराइएको छ ।