महानगरको तानाशाही प्रवृत्तिले दरवारमार्गमा अचानक पार्किङ बन्द

काठमाडौं, १९ पुस । काठमाडौंको व्यस्त क्षेत्र दरवारमार्गमा आजदेखि अचानक पार्किङ बन्द भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि लागू हुने गरी उक्त पार्किङ बन्द गरिदिएको हो । हिजोसम्म यथावत् सञ्चालनमा रहेको पार्किङ आजबाट बन्द गरिएको हो ।

जानकार सूत्रका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आवेशमा दिनुभएको एक मौखिक आदेशको भरमा उक्त पार्किङ बन्द गरिएको हो ।
मेयर साहले खुलामञ्च रहेको टुँडिखेल मासेर बहुतले पार्किङ बनाउन लागेको विरोधमा हिजो अभियन्ताहरूले महानगरपालिका कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र समेत बुझाएका थिए ।

उक्त विरोध कार्यक्रममा सम्पदा अभियन्ताहरुका साथै ‘अकुपाई टुँडिखेल’ का कार्यकर्ता र धेरै स्थानीय मानिसहरूको उपस्थिति थियो । त्यसमा दरवारमार्गको पार्किङ व्यवस्थापनको ठेक्का पाएका स्थानीय व्यवसायीहरूले पनि भाग लिएका थिए । आफ्नो विरोधमा आयोजित कार्यक्रममा भाग लिन आए भन्दै मेयर साहले तिनीहरुको जिम्मामा रहेको दरमार्गस्थित पार्किङ नै आजदेखि बन्द गरिदिएको बताइएको छ ।

महानगरपालिकाले दरवारमार्गको पार्किङ हटाउने बारे कहिल्यै पनि पूर्व सूचना जारी नगरेको स्थानीय व्यापारीहरू बताउँछन् । पार्किङ हटाएका कारण सो स्थानमा रहेका दर्जनौं होटल, रेष्टुरेन्ट एवं अन्य पसलहरू प्रभावित हुने पनि उनीहरूले बताएका छन् ।

सधैँ झैं आफ्नो सवारी साधन पार्क गर्न आएका सवारी धनीहरूलाई आज बिहानैदेखि नगर प्रहरीहरुले पार्किङ बन्द गरिएको भन्दै अन्यत्र पठाएका थिए । उक्त ठाउँमा पार्किङ बन्द गरिएको बारे ट्राफिक प्रहरीलाई पनि जानकारी दिइएको थिएन ।

योभन्दा अगाडि काठमाडौं महानगरपालिकाले बागबजारको सडक किनारमा राखिएको पार्किङ पनि हटाएको थियो । त्यतिबेला महानगरपालिकाको उक्त निर्णय विरुद्ध स्थानीय व्यापारीहरूले प्रतिरोध गरेका थिए । उक्त स्थानमा पार्किङ हटाए पछि अहिले बागबजारको व्यवसाय डाँवाडोल हुन गई स्थानीय व्यापारीहरूको जीवन समेत अस्तव्यस्त हुन पुगेको छ ।

यसरी नै अहिले दरवारमार्गको पार्किङ हटाएका कारण त्यहाँ महँगो भाडा तिरी व्यवसाय सञ्चालन गरिरहेको व्यवसायीहरूको व्यापार पनि अस्तव्यस्त हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

उक्त ठाउँमा पार्किङ सञ्चालन गर्ने बारे काठमाडौं महानगरपालिका र पार्किङ व्यवसायी बीच औपचारिक रुपमै सम्झौता गरी पार्किङ व्यवस्थापन गर्दै आएको बुझिएको छ । तर अहिले महानगरपालिकाले बिना पूर्व जानकारी एकपक्षीय रुपमा सम्झौता विपरित मेयरको मौखिक आदेशको भरमा पार्किङ बन्द गरेकोले विधि र कानूनको समेत उल्लंघन हुन पुगेको पनि व्यवसायीहरूले बताएका छन् ।

मेयर साहले मौखिक आदेश दिएपछि त्यसको पालना गर्न खट्ने नगर प्रहरीहरुले पनि हाल आफूलाई कुनै ऐन, कानून, कागजपत्र र प्रशासनिक प्रक्रियाको मतलब छैन, माथिबाट आदेश आएपछि जे पनि गर्छौँ भन्ने गरेकाले नगरमा अब कानुनी शासन होइन मेयर साहको हुकुमी शासन चल्न थालेको अनुभव पीडितहरूले गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले केही समय अघि मात्रै नगरको सौन्दर्य विनास गरेको भन्दै महानगरभरिका डिजिटल र अन्य होर्डिङ बोर्डहरू बन्द गर्ने सूचना जारी गरेको थियो । ती मध्ये केही होर्डिङ बोर्डहरू झिक्ने कार्य पनि अघि बढाएको थियो । तर त्यो काम बीचैमा बन्द भई अहिले फेरि होर्डिङ बोर्डहरू यथावत् सञ्चालन हुन थालेका छन् । सम्बन्धित व्यवसायी र महानगरपालिकाका जिम्मेवार पदाधिकारीहरूका बीच आपसी ‘सेटिङ’ भई होर्डिङ बोर्ड हटाउने अभियानबाट महानगरपालिका पछि हटेको आशंका गरिएको छ ।

अहिले विभिन्न ठाउँका पार्किङ हटाउने कार्य पनि त्यही ‘सेटिङ’ को लागि गरिएको तयारी हो कि भन्ने आशंका पनि गर्न थालिएको छ ।