प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडाैं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।
नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो ।
लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसक्नुभएको छ । फैसलाबाट पदमुक्त हुनुभएका लामिछानेले सोही दिन राजीनामा बुझाउनुएको थियो ।
लामिछाने ११ पुसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नुभएको थियो ।