देशका अधिकांश स्थानमा वर्षाको सम्भावना : सतर्कता अपनाउन मौसम विभागको आग्रह
काठमाडौँ, असार २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेकाले विभिन्न प्रदेशका पहाडी, हिमाली तथा तराईका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ ।
दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा समेत वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
रातिको मौसम पूर्वानुमान
आज राति पनि देशभरि नै बदलीको अवस्था कायम रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको समेत प्रक्षेपण गरिएको छ।
सतर्कताका लागि अनुरोध
विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम, तराईमा डुबान र नदी तटीय क्षेत्रमा जलस्तर बढ्न सक्ने भन्दै महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । साथै, मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति कम गर्न आवश्यक पूर्वतयारी अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।