पौवादुङमा गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनका सामग्री वितरण
काठमाडौँ, असार २५ । भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक अवस्था सुधार र जीवनस्तर वृद्धि गर्ने उद्देश्यले विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ । गाउँपालिकाले ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ अन्तर्गत ७५ प्रतिशत अनुदानमा ती सामग्री उपलब्ध गराएको हो।
गाउँपालिकाका अनुसार लक्षित वर्गलाई स्वरोजगारतर्फ आकर्षित गर्दै दैनिक जीवनयापनमा सहजता ल्याउन ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको हो । सामग्री वितरण गर्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले भन्नुभयो, ‘हाम्रो लक्ष्य केवल सहयोग गर्ने मात्र नभई, अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनसँग जोडेर दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउनु हो।’
वितरण गरिएका सामग्रीहरू
कार्यक्रमअन्तर्गत गाउँपालिकाले ६ वटा कुटानीपिसानी मिल वितरण गरेको छ। त्यस्तै, १९ जनालाई सुँगुरका पाठापाठी, एक जनालाई कुखुरा, तीन जनालाई अदुवा खेतीका लागि बिउ र एक जनालाई हिलट्याङ्क उपलब्ध गराइएको छ । यी सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै बसेर साना घरेलु उद्यम सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
स्थानीयको प्रतिक्रिया
गाउँपालिकाको यस कार्यप्रति लाभग्राहीहरू उत्साहित देखिएका छन् । पौवादुङमा ६ का स्थानीय दीपक राईले गाउँपालिकाको सहयोगले आफूहरूलाई आयआर्जनको बाटो खुलेको बताउनुभयो । ‘यसले घरमै बसेर काम गर्ने वातावरण बनाइदिएको छ, अब आम्दानी बढेर जीवन सहज हुने आशा छ ।’ उहाँले भन्नुभयो ।
बजार व्यवस्थापन र आगामी योजना
गाउँपालिकाले उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि समेत तयारी थालेको छ । गाउँपालिका अध्यक्ष किरण राईका अनुसार स्थानीय उत्पादनलाई सङ्कलन र बिक्रीवितरण गर्न तिवारीभञ्ज्याङमा ‘कोसेली घर’ निर्माण गर्ने योजना छ ।
प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले गाउँपालिकाका १ देखि ६ वटै वडाका लक्षित व्यक्तिहरू छनोट गरी करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको बजेटबाट यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै उत्पादन र बजारलाई जोड्ने नीति लिएको छ ।