खाद्य गुणस्तर मापनमा काठमाडौँ महानगरको फड्को: आफ्नै अत्याधुनिक ‘माइक्रोबायोलोजी ल्याब’ सञ्चालनमा
काठमाडौँ (एजेन्सी) । काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्य र खाद्य स्वच्छतालाई सुनिश्चित गर्न आफ्नै अत्याधुनिक ‘खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला’ (Food Microbiological Testing Laboratory) सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौँ प्लाजाको पाँचौँ तलामा आयोजित एक कार्यक्रमबीच महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रयोगशालाको औपचारिक शुभारम्भ गर्नुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड र एसओपी (SOP) बमोजिम स्थापित यो प्रयोगशाला महानगरको कृषि तथा पशुपन्छी विभागअन्तर्गत सञ्चालन हुनेछ । यहाँ इसेरिसिया कोलाई (इकोलाई), साल्मोनेला, स्टाफिलोकोकस ओरियस, कुल प्लेट गणना (टीपीसी) र फिकल कोलिफर्म जस्ता हानिकारक सूक्ष्म जीवहरूको वैज्ञानिक परीक्षण गरिनेछ ।
‘अनुमानमा होइन, तथ्यमा आधारित कारबाही’
प्रयोगशालाको उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले अब बजार अनुगमनका क्रममा देखिने त्रुटिहरूलाई अनुमानका भरमा नभई वैज्ञानिक प्रमाणका आधारमा वर्गीकरण गरिने स्पष्ट पार्नुभयो । “अब कानुनी कारबाही वैज्ञानिक तथ्यका आधारमा हुनेछ । यही प्रयोगशालाको रिपोर्टका आधारमा हामी बजार नियमन र नियन्त्रण गर्नेछौँ,” उहाँले भन्नुभयो ।
डंगोलका अनुसार महानगरले हालसम्म ३ हजार ९० जना व्यवसायीलाई खाद्य स्वच्छता र पेशागत मर्यादा सम्बन्धी तालिम दिइसकेको छ । “हामीले व्यवसायीलाई सुधारको मौका दियौँ, अब भने कैफियत देखिएका खाद्य वस्तुको नमूना आफ्नै ल्याबमा परीक्षण गरी दोषीलाई कडा कानुनी कारबाही गरिनेछ,” उहाँले थप्नुभयो ।
छिटो र भरपर्दो सेवाको अपेक्षा
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रयोगशाला स्थापनासँगै महानगरले खाद्य स्वच्छताका विषयमा छिटो र भरपर्दो निर्णय लिन सक्ने बताउनुभयो । यसले उपभोक्ताको स्वच्छ खाद्य सेवा पाउने अधिकारलाई थप मजबुत बनाउने उहाँको विश्वास छ ।
खाद्य स्वच्छता विज्ञ जीवनप्रभा लामाले यसलाई महानगरको महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्दै खाद्य निरीक्षक, प्रयोगशाला र कानुनी कार्यान्वयनका सबै स्तम्भमा महानगरले काम गरिरहेको बताउनुभयो ।
आगामी लक्ष्य: अन्तर्राष्ट्रिय मान्यता
प्रयोगशालामा नमूना दर्तादेखि प्रतिवेदन तयार पार्नेसम्मका सबै प्रक्रिया वैज्ञानिक विधि र गुणस्तर व्यवस्थापन प्रणाली अनुसार हुने महानगरले जनाएको छ । हाल आफ्नै आन्तरिक परीक्षणका लागि प्रयोग गरिए पनि आगामी दिनमा यस प्रयोगशालालाई ‘एक्रिडेसन’ (अन्तर्राष्ट्रिय मान्यता) प्राप्त गराउने लक्ष्य महानगरको छ ।
यो प्रयोगशाला सञ्चालनमा आएसँगै काठमाडौँका होटल, रेस्टुरेन्ट र बजारमा बिक्री हुने खाद्य वस्तुको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।