शुभम पावरको आईपीओ आजदेखि खुल्यो, क-कस्ले भर्न पाइन्छ ?
काठमाडाैं, १८ माघ । शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको शेयर थप गरि सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण अनलाइन सफ्टवेयर, मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।