सिरहामा करोडौँ मूल्यका मोबाइल पानीमा डुबाएर नष्ट गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडाैं, २२ जेठ । सिरहामा परीक्षाका क्रममा जफत गरिएका एक करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन र स्मार्टवाचहरू सार्वजनिक रूपमा नष्ट गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सुरक्षाकर्मीको रोहवरमा ती उपकरणहरू नष्ट गरिएको हो।

नष्ट गरिएका उपकरणहरूमा ७ वटा महँगा आईफोन, ४ सय ८९ वटा एन्ड्रोइड फोन र ५ वटा स्मार्टवाच रहेका छन्। बजार मूल्यअनुसार यी उपकरणको मूल्य १ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

मधेस प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग गरेको पाइएमा ती सेटहरू जफत गरी नष्ट गर्ने घोषणा गरेकी थिइन्। सोही निर्देशन र परीक्षा सञ्चालन निर्देशिकाको कार्यान्वयनका क्रममा जफत गरिएका मोबाइलहरूलाई पुनः प्रयोग गर्न नमिल्ने गरी नष्ट गर्ने निर्णय समन्वय समितिले गरेको हो।

उपकरण व्यवस्थापनका लागि इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमिति गठन गरिएको थियो।

जफत गरिएका मोबाइलहरू नष्ट गर्न प्रहरीले ‘वाटर ट्रिटमेन्ट’ विधिको प्रयोग गरेको छ। अधिकांश मोबाइल फोनहरू पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर राखिएको थियो। वाटरप्रुफ (पानीले नबिग्रने) सेटहरूलाई भने पहिले फुटाएर मात्र पानीमा हालिएको थियो। प्राविधिक रूपमा ती सेटहरू अब कुनै पनि हालतमा चल्न नसक्ने सुनिश्चित भएपछि मात्र यो प्रक्रिया टुङ्ग्याइएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशकुमार पालले यो निर्णय प्रहरीको एकल नभई समन्वय समितिको सामूहिक निर्णय भएको स्पष्ट पार्नुभयो। यता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइलहरू लिलाम गर्दा भोलिका दिनमा डाटा सुरक्षा र अन्य प्राविधिक सुरक्षा चुनौती आउन सक्ने भएकाले नष्ट गरिएको दाबी गर्नुभयो।

प्रहरीले मोबाइल नष्ट गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस कदमको तीव्र आलोचना भइरहेको छ। कतिपयले राज्यले यस्तो कठोर नीति लिनुको साटो रचनात्मक र सुधारात्मक उपाय अपनाउनुपर्नेमा जोड दिएका छन्।