पश्चिमी प्रणाली सक्रिय, तराईका १४ जिल्लामा ‘लु’ चल्ने चेतावनी
काठमाडौँ, २२ जेठ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा दोहोरो चरित्र देखिएको छ। पहाडी भू–भागमा बदली र वर्षा भइरहँदा तराईका जिल्लाहरूमा भने प्रचण्ड गर्मी र तातो लहर (लु) को जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा मौसम साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
पहाडमा वर्षा हुँदा तराईमा भने गर्मीले जनजीवन अस्तव्यस्त हुने देखिएको छ। विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा मध्यम खालको तातो लहर चल्ने सम्भावना छ। महाशाखाले आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउनुपर्ने १४ जिल्लाको सूची सार्वजनिक गरेको छ:
लुम्बिनी: बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी (सुस्ता पश्चिम)।
मधेश/कोशी: पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी।
यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी प्रदेश र देशका हिमाली क्षेत्रमा बदली कायमै रहनेछ। कोशीका थोरै स्थान र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।