निर्वाचन आयोगले सरकारलाई चुनाव खर्च बापतकाे ३ अर्ब रूपैयाँ फिर्ता गर्ने

काठमाडौं, २० माघ। निर्वाचन आयोगले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले चुनाव खर्च बापतकाे झन्डै ३ अर्ब रूपैयाँ रकम सरकारलाई फिर्ता गर्न लागेको हाे ।

शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताए ।

उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको उल्लेख गरे ।