नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं, २३ माघ । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई औपचारिक नियुक्ति दिएको हो । उनले केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका छन् ।

देसाईले यसअघि वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए । देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।

यसअघि धेरै दिन उनको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो । आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिए ।