कालीकोटको रास्कोट नगरपालिकाद्वारा ५६ करोड ६७ लाखको बजेट प्रस्तुत, सामाजिक विकासलाई उच्च प्राथमिकता
कालीकोट, ८ असार । कालीकोटको रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको आइतबार आयोजित १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालले आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
सार्वजनिक गरिएको बजेटमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ७६ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ १८ करोड ८१ लाख रुपैयाँ र सशर्त पुँजीगततर्फ १० करोड ४५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
यसैगरी संघीय विशेष अनुदान ६१ लाख रुपैयाँ, समपूरक अनुदान २ करोड ५९ लाख रुपैयाँ र संघीय राजस्व बाँडफाँटबाट ७ करोड ९१ लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख बरालले जानकारी दिनुभयो।
प्रदेश सरकारका तर्फबाट वित्तीय समानीकरण अनुदानबापत १ करोड ३८ लाख ४६ हजार, सशर्त चालुतर्फ २२ लाख ५ हजार, सशर्त पुँजीगततर्फ १ करोड ५५ लाख, विशेष अनुदान ३५ लाख र समपूरक पुँजीगततर्फ १ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रादेशिक राजस्व बाँडफाँटबाट १० लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी वर्ष आफ्नो आन्तरिक कर तथा गैरकर राजस्वबाट कुल बजेटको ३.०९ प्रतिशत अर्थात् १ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
प्रस्तावित व्ययतर्फ चालु खर्चका लागि कुल बजेटको ६१.४२ प्रतिशत अर्थात् ३४ करोड ८१ लाख १ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ३८.५८ प्रतिशत अर्थात् २१ करोड ८६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
क्षेत्रगत रूपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कुल बजेटको ६४.८८ प्रतिशत अर्थात् ३६ करोड ७७ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये शिक्षा क्षेत्रका लागि मात्रै २० करोड रुपैयाँ र स्वास्थ्यतर्फ १५ करोड ७६ लाख ५ हजार रुपैयाँ छुट्याइएको छ।
यसबाहेक आर्थिक विकास क्षेत्रमा २ करोड ४८ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ५ लाख ५० हजार रुपैयाँ (१०.६८ प्रतिशत), सुशासन क्षेत्रमा १ करोड २८ लाख ५० हजार र वन तथा वातावरण संरक्षणतर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि कुल बजेटको १७.४४ प्रतिशत अर्थात् ९ करोड ८८ लाख ४६ हजार रुपैयाँ छुट्याइएको छ।
रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्य हासिल गर्ने गरी नगरसभा सम्पन्न गरेको जनाएको छ।