संरक्षण अभियानसँगै लोकप्रियता कमाउँदै डोटीको जोरायले बासमती धान

काठमाडौँ, ८ असार । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध एवं रैथाने प्रजातिको ‘जोरायले बासमती’ धानको संरक्षण र व्यावसायिक विस्तारका लागि स्थानीय सरकार र कृषकहरू सक्रिय रूपमा लागिपरेका छन्। विशिष्ट स्वाद र सुगन्धका कारण प्रख्यात यो धान लोप हुने खतरा बढेपछि थालिएको संरक्षण अभियानले गर्दा यस वर्ष डोटीको जोरायल क्षेत्रका किसानहरू रोपाइँका लागि उत्साहित देखिएका छन्।

मनसुनको समयमै सुरुवात भएसँगै जोरायल गाउँपालिकाका रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला र पिपलकण्डेल लगायतका समथर फाँटहरूमा रोपाइँ तीव्र पारिएको छ। जोरायल–३ का वडाध्यक्ष नवीन ओझाका अनुसार खोला किनारका सिञ्चित फाँटहरूमा जेठको पहिलो सातादेखि नै रोपाइँ सुरु भएको हो। यस वर्ष परम्परागत हलो-गोरुको सट्टा मिनिटिलर (हाते ट्याक्टर) को प्रयोग बढेकाले खेतीको लागत र श्रम घटेको स्थानीय कृषक भक्तराज अवस्थीले बताउनुभयो।

वैदिककालदेखि जोरायल क्षेत्रमा मात्रै उत्पादन हुँदै आएको यस रैथाने धानकै नामबाट जोरायल गाउँपालिकाको नामकरण भएको मानिन्छ। गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाले जोरायले बासमतीको संरक्षण र उत्पादन विस्तारका लागि पालिकाको बजेटमार्फत विशेष कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो।

सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो चामलका रूपमा परिचित यो चामल हाल स्थानीय बजारमा प्रतिकिलो १२० रुपैयाँमा बिक्री भइरहेको छ र यसको माग छिमेकी मुलुक भारतका विभिन्न सहरहरूमा समेत बढ्न थालेको छ। कृषि ज्ञान केन्द्र डोटीका अनुसार हाल डोटीको करिब ८०० हेक्टर जमिनमा यो धानखेती हुँदै आएको छ।

यो धान अन्य धानभन्दा कम्तीमा एक महिना ढिलो पाक्ने भएकाले विगतका वर्षहरूमा कृषकहरू यो खेती गर्न केही हिचकिचाउने गरेको स्थानीय कृषक लक्ष्मी ओली बताउनुहुन्छ। ज्ञान केन्द्रका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले यो बासमती धान स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक रहेको र यसको संवर्द्धन आवश्यक रहेको उल्लेख गर्नुभयो। डोटी जिल्लाको कुल २५ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार ६८० हेक्टरमा धान खेती हुने गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जीन बैंक र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) को अभिलेखमा नेपालका रैथाने बासमती धानका प्रजातिहरू सुरक्षित राखिएका छन्। जुम्लाको मार्सी, पोखराको जेठोबुढो, दाङको तिल्की जस्तै जोरायले बासमती पनि नेपालको रैथाने पहिचान हो।

सन् १९७० र १९८० को दशकमा नेपालका विभिन्न भूभागबाट सङ्कलन गरिएका बासमतीका रैथाने जातहरू अन्तर्राष्ट्रिय जीन बैंकहरूमा सुरक्षित रहेकाले अन्तर्राष्ट्रिय मञ्चमा ‘बासमती’ नाममाथि नेपालको भौगोलिक र बौद्धिक अधिकार दाबी गर्न यसले बलियो कानुनी प्रमाण प्रदान गरेको कृषिविज्ञहरू बताउँछन्।