सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट निस्केन नेपाल, एफएटीएफद्वारा निरन्तरता
काठमाडौँ, ८ असार । सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) ले नेपाललाई जोखिमपूर्ण देशहरूको सूची ‘ग्रे लिस्ट’ (खैरो सूची) मा यथावत् राखेको छ। नेपालले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा पर्याप्त र विश्वासिलो सुधार गर्न नसकेपछि यस सूचीबाट बाहिर निस्किन असफल भएको हो।
एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई खैरो सूचीमै निरन्तरता दिने निर्णय गरेको छ। एफएटीएफको एसिया प्यासिफिक ग्रुप (एपीजी) ले यसअघि औँल्याएका नीतिगत तथा कानुनी कमजोरीहरूलाई नेपालले सुधार गर्न नसकेकाले यो अवस्था आएको हो।
एपीजीले तेस्रो पटक गरेको पारस्परिक मूल्याङ्कनमा अवैध धन नियन्त्रण, अनुसन्धान र अभियोजन फितलो पाइएपछि नेपाललाई गत २०८१ साल फागुन ९ गते खैरो सूचीमा राख्ने निर्णय गरिएको थियो।
नेपालले आगामी सन् २०२७ को फेब्रुअरीसम्ममा एफएटीएफको खैरो सूचीबाट बाहिर निस्किने लक्ष्य राखेको छ। यसका लागि नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी राष्ट्रिय प्रणाली सुदृढ गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन हाल १५ वटा विशेष कार्ययोजना (एक्सन प्लान) हरू कार्यान्वयन गरिरहेको सम्बद्ध सरकारी निकायहरूले जनाएका छन्।