रास्वपा महाधिवेशन: प्रतिनिधिहरूको नामावली टुङ्गो नलाग्दा बन्दसत्र सुरु हुन ढिलाइ

चितवन, ८ असार । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूको नामावली टुङ्गो लाग्न नसक्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि छनोटको विवाद र नामावलीमा देखिएका प्राविधिक त्रुटि सच्याउन समय लागेकाले निर्धारित समयमा सुरु हुन नसकेको हो।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको अन्तिम नामावली टुङ्गो लगाउने र परिचयपत्र (कार्ड) बनाउने कार्य जारी रहेकाले बन्दसत्र सुरु हुन ढिलाइ भएको हो। प्रतिनिधिहरूको नाम, थर र ठेगानामा देखिएका प्राविधिक त्रुटिहरू सच्याउनुपर्ने अवस्था रहेको र मधेस लगायतका प्रदेशमा प्रतिनिधि छनोटलाई लिएर विवाद कायमै रहेकाले अन्तिम सूची तयार पार्न समय लागेको हो।

यसअघि निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तोकिएको समयमा बन्दसत्र सुरु हुन नसक्दा हाल महाधिवेशन स्थल वरपर देशैभरिबाट आएका प्रतिनिधिहरूको उल्लेख्य भीडभाड रहेको छ। प्राविधिक र व्यवस्थापकीय कार्य टुङ्गो लागेपछि सोमबार अपराह्न अबेर मात्र बन्दसत्र सुरु हुन सक्ने नेताहरूले बताएका छन्।