विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित रहनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडाैं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र सुधार्न अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित रहन आवश्यक रहेकाे बताउनुभएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने, कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनुका साथै गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको र देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयाे ।
उहाँले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा जोड दिनुभयो ।