खोटाङको हलेसीमा रामनवमी मेला
खोटाङ, १६ चैत्र । रामनवमीको अवसरमा खोटाङको हलेसीमा भब्य मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिन मेला लागेको हो ।
एक हप्ता अघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी आएका छन् ।मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि अधिकांश दर्शनार्थी आफ्नै सवारीसाधन लिएर आएका हुन् ।
मेला व्यवस्थित गर्न सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।
हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारलगायत छन् । हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ ।
रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तीजलगायतका अवसरमा हलेसीमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिरमा हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी सिसी क्यामेर जडान गरिएका छन् ।
उज्यालो हलेसी कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु दश लाखको लागतमा मन्दिर परिसरका २६ ठाउँमा सौर्यबत्तीसमेत जडान गरिएको छ ।