वर्ल्डलिंकले क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने
काठमाडाैं, ६ वैशाख । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ ।
देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्न वर्ल्डलिंक र क्रिकेट संघ नेपाल बीच मंगलबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारी पत्रमा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गा राज पाठकले हस्ताक्षर गरेका छन् ।
तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुन सक्ने बताइएको छ ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत नेपालले देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई बिस्तार तथा प्रर्वधन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए ।
सम्झौता अनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ ।
यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ ।