विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
काठमाडौँ, असोज ४ । व्यास नगरपालिकाले सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा विभिन्न विकास निर्माणका योजनामार्फत पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडकको ‘ट्र्याक’ खोलिएको छ । सो अवधिमा तीन दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान र छ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
सहरी व्यवस्थापन तथा सार्वजनिक संरचना निर्माणलाई समेत प्राथमिकता दिँदै नगरपालिकाले गत आर्थिक वर्षमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरेको छ । कृषि उत्पादनलाई सहज बनाउन नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
नगरपालिकाले सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ पनि काम अघि बढाएको छ । गत आर्थिक वर्षमा तीन वटा पार्क, १५ वटा नयाँ विद्यालय भवन तथा सामाजिक र सामुदायिक गतिविधिका लागि आवश्यक छ वटा सामुदायिक भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारतर्फ एक सय ५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ । नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म ७२५ दशमलव ६७ किलोमिटर नयाँ सडकको ‘ट्र्याक’ खोलिएको छ ।
त्यसैगरी, नगरपालिकाभित्र हालसम्म २२ वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । नगर क्षेत्रमा हालसम्म ११८ दशमलव ९५ किलोमिटर ढल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो ।
बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हालसम्म पाँच दशमलव १७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ । कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने क्रममा हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको नगरपालिकाले जनाएको छ ।
खुला तथा मनोरञ्जनात्मक क्षेत्रको विकासलाई समेत नगरपालिकाले पूर्वाधार योजनामा समेटेको छ । हालसम्म नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भइसकेका छन् । नगरपालिकाका अनुसार सडक, ढल, सिँचाइ, नदी नियन्त्रण, शिक्षा तथा सामुदायिक पूर्वाधारमा गरिएको लगानीले स्थानीयस्तरमा सेवा सुविधा विस्तारसँगै विकासका आधारभूत संरचना थप व्यवस्थित हुँदै गएका छन् ।
