रसुवा बाढीको प्रभाव: मुस्ताङमा पर्यटक आगमन ह्वात्तै घट्यो, भदौमा झन्डै ४८ प्रतिशतले कमी
मुस्ताङ, ४ असोज । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको मनोवैज्ञानिक र व्यावहारिक प्रभाव हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा पनि परेको छ। साउन महिनाको तुलनामा भदौ महिनामा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा झन्डै ४८ प्रतिशतले गिरावट आएको छ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग साउनमा बाढी, पहिरो र नदी कटानका कारण दर्जनौँ पटक अवरुद्ध हुँदासमेत पर्यटकको आगमन उत्साहजनक रहेकामा रसुवा घटनापछि भने पर्यटक आगमन ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
भदौमा झन्डै ३० हजार पर्यटक घटे
म्याग्दी र मुस्ताङको सीमावर्ती घाँसा प्रहरी चौकीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौ महिनामा २९ हजार २७४ जना (४७.७८ प्रतिशत) कम पर्यटक मुस्ताङ भित्रिएका छन्।
-
साउनको स्थिति: साउन महिनामा ३० हजार ६५५ आन्तरिक, ३१ हजार ५७५ सार्क राष्ट्रका र १९३ जना अन्य मुलुकका गरी कूल ६१ हजार २४३ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।
-
भदौको स्थिति: भदौ महिनामा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ जना गरी ३१ हजार ९८९ पर्यटक मात्र मुस्ताङ पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटकमार्फत ४६.१६ प्रतिशत र सार्क पर्यटकमार्फत ५२.०५ प्रतिशतले कमी आएको हो।
तेस्रो मुलुकका पर्यटक भने बढे
आन्तरिक र सार्क राष्ट्रका पर्यटकको आगमन घटे पनि तेस्रो मुलुकका (अन्य राष्ट्रका) पर्यटकको सङ्ख्यामा भने वृद्धि भएको छ। साउनमा १९३ जना तेस्रो मुलुकका पर्यटक आएकामा भदौमा १५५ जनाले वृद्धि भई ३४८ पुगेका छन्।
साउन र भदौ गरी दुई महिनाको अवधिमा कुल ९३ हजार २५२ जना पर्यटकले मुस्ताङ भ्रमण गरिसकेका छन्।
प्रहरी निरीक्षक बस्यालका अनुसार भदौ १० को रसुवा बाढीको स्तब्धकारी घटनाका कारण देशभर उत्पन्न शोकको वातावरण र सुरक्षा चिन्ताका कारण पर्यटकको आवागमन घटेको हो।
