एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज

काठमाडौँ, ४ असोज । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछ।

केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।

यसअघि बसेको कार्यदलमा दुई वटा प्रतिवेदन आएकाले एकै प्रतिवेदन तयार गर्न आजको बैठक आह्वान गरिएको हो। कार्यदलको बैठकपछि सचिवालयको बैठक दिउँसो १ बजे च्यासलमै आह्वान गरिएको छ। यसअघि कार्यदलको बैठकमा प्रतिवेदनबारे समझदारी नजुटेकाले यहाँबाट कस्तो निर्णय हुने भन्ने चासो एमाले नेता तथा कार्यकर्तामा रहेको छ।

आज कार्यदल र सचिवालय बैठकपछि भोलिबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ। बैठक असोज ७ गतेसम्म बस्ने तालिका एमालेले सार्वजनिक गरेको छ। प्रचार विभाग प्रमुख आचार्यका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको भैंसीमण्डलस्थित रामबाग महलमा बस्नेछ, जहाँ अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *