पर्यटकको रोजाइमा जलविरे झरना
चितवन, ७ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा रहेकाे जलविरे झरना पछिल्लो समय पर्यटककाे राेजाइमा पर्न थालेका छन् । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।
मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो ।
शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क रहेकाे जलविरे झरना पर्यटन विकास समितिले जनाएकाे छ ।
कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् ।
पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन् । केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ । पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत रु १४ लाखभन्दा बढी आम्दानी गरेको गुरुङले बताउनुभयो । यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले रु ५० र विदेशीले रु १०० शुल्क तिर्नुपर्छ ।
“आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाउँदैछौँ”, उहाँले भन्नुभयो । झरना नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ । यसले पर्यटकको मन लोभ्याएको छ ।
सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।