उपनिर्वाचन : बारा, चितवन र तनहुँ तीनै क्षेत्रमा मतदान सुरु
काठमाडौं, १० बैशाख । बारा, चितवन र तनहुँ तीनै क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएकाे निर्वाचन आयोगले जनाएकाे छ । मतदान बारा २, चितवन २ र तनहुँ १ मा सुरू भएकाे हाे ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।
मतदानका दिन पनि आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ ।
आयोगले भनेको छ ‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिई सकिएको छ ।’