पर्वतमा कृषकले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप
पर्वत, १३ वैशाख । पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।
लामो समयको खडेरीका कारण मकैका बोटमा ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ ।
‘फौजी कीरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण कीराको प्रभाव नदेखिएको उहाँको भनाइ छ ।
“यस वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले कीराको प्रकोप फैलिन सक्ने जोखिम छ”, उहाँले भन्नुभयो–“अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।”
पछिल्लो समय पर्वतमा यसको जोखिम बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आइपिएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन् ।
सोही क्रममा गत शुक्रवार ‘फौजी कीरा’ले मकैको बोट खाएको देखिएको हो । लगत्तै कुश्मा नगरपालिका–२ खुर्कोटमा पनि ‘फौजी कीरा’ले मकैका बोट खाएको पाइएको थियो । फलेवास, विहादी, महाशिला, मोदी र पैंयुका केही वडामा पनि यो कीराको प्रभाव देखिन थालेको कृषकले बताएका छन् ।
अधिकृत थापाका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पूर्याउँछ । करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अन्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उहाँले बताउनुभयो । एक ठाउँमा देखिनु भनेको धेरै ठाउँमा देखिने भएकाले यदाकदा देखिँने बित्तिकै यसको प्रकोपको भय हुने उहाँले बताउनुभयो ।
यसको व्यवस्थापनका लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीच–बीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाई कीरा आकर्षण गरी विषादी प्रयोग गरेर एकैपटक मार्नेलगायत उपाय अपनाउन थापाले सुझाव दिनुभयो ।