गुमेको दृष्टि फर्किँदा ज्येष्ठ नागरिकमा खुसीयाली: महाराजगन्जमा १५० भन्दा बढीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कपिलवस्तु, २३ भदौ । वर्षौँदेखि संसार अन्धकार झेलिरहेका कपिलवस्तु महाराजगन्जका ज्येष्ठ नागरिकहरूको जीवनमा नयाँ उज्यालो छाएको छ। महाराजगन्ज नगरपालिकाले आयोजना गरेको दुईदिने निःशुल्क आँखा शिविरमार्फत १५० भन्दा बढी ज्येष्ठ तथा विपन्न नागरिकको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएसँगै उनीहरूको गुमेको दृष्टि फर्किएको हो।

शल्यक्रियापछि आँखाको पट्टी खोलिँदा ७० वर्षीय थानेदार चौधरी अत्यन्त हर्षित देखिनुहुन्थ्यो। “मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु, योभन्दा ठुलो खुसी अरू के हुन सक्छ?” उहाँले भावुक हुँदै भन्नुभयो, “विगतमा उपचारका लागि भारत जानुपर्थ्यो, अहिले आँगनमै निःशुल्क सेवा पाइयो।” त्यसै गरी, ६५ वर्षीया राधा कोरीले पनि पुनः आँखा देख्न पाउने आशा मारिसकेको अवस्थामा शल्यक्रियापछि उज्यालो देख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि वडा नं. २, ३, ४ र ११ मा प्रारम्भिक परीक्षण शिविर राखिएको थियो। त्यहाँ जाँच गरिएकामध्ये १८५ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो। तीमध्ये छनोटमा परेका १५० भन्दा बढीको नगरपालिकाको आधारभूत अस्पतालमा शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिनुभयो।

एटलस एलाइन्स नर्वेको आर्थिक सहयोग र छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा शिविर सञ्चालन भएको हो। नगरपालिकाले बिरामीहरूका लागि घरदेखि अस्पतालसम्मको यातायात, शल्यक्रिया, औषधि, कालो चस्मा मात्र नभई खाना र बसोबासको समेत निःशुल्क व्यवस्था गरेको थियो।

नगरप्रमुख अब्दुल कलाम खाँले नगरवासीसँग गरेको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिक र विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य सेवामा पहुँच विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले विसं २०७४ देखि नै निःशुल्क आँखा शिविरलाई निरन्तरता दिँदै आएको छ र हालसम्म १० हजारभन्दा बढी नागरिकले यो सेवा लिइसकेका छन्।

उपप्रमुख रीताकुमारी चौधरीले नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने नगरपालिकाको नीतिअनुरूप आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। शल्यक्रियापछि नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले बिरामीलाई कालो चस्मा वितरण गर्दै बिदाइ गर्नुभएको थियो।