अध्यक्ष ओली र नेपालका लागि क्युवाका राजदूत मारिनबिच भेटवार्ता, के–के भयो कुराकानी ?
काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि क्युवाका राजदूत एलेजेन्द्रा सिमानिज मारिनबिच भेटवार्ता भएको छ । नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा उहाँहरु बिच भेटवार्ता भएको हो ।
भेटवार्तामा अध्यक्ष ओलीले क्युवा र नेपालको सम्वन्ध विस्तार भएको ४८ वर्ष पूरा भएको भन्दै सम्वन्धनलाई थप विकास गर्दै अघि बढ्नेमा जोड दिनुभएको थियो । उहाँले क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको स्मरण गर्दै उहाँको प्रभावशाली नेतृत्व र बुद्धिमत्तालाई नेपालको कम्युनिष्ट आन्दोलनले स्मरण गरिहने बताउनु भएको थियो । ‘हामी कम्युनिष्टहरु क्युवाको कम्युनिष्ट आन्दोलनले उचाई चुमेको देख्न चाहन्छौँ,’ भेटमा ओलीले भन्नुभएको भनाई उध्रित गर्दै एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यले भन्नुभयो, ‘क्युवाले कठिन अवस्थामा पनि आफ्नो सार्वभौमसत्तालाई जोगाउन सफल भएको इतिहास छ । हामी त्यसको सम्मान गर्न चाहन्छौं ।’
भेटमा ओलीले २००६ को सेक्टेम्बर १५–१६ मा क्युबाको हवानामा भएको असंलग्न आन्दोलनको चौधौं शिखर सम्मेलनमा आफू पनि सहभागी हुने अवसर प्राप्त भएको भन्दै ओलीले कम्युनिष्टहरुले मानवअधिकारको कुरा उठाउँछन भन्ने दुनियाँलाई देखाउ चाहन्छौँ भन्दै क्युवाको भूमिकाबाट प्रभावित भएको स्मरण गराउनुभयो ।
राजदूत मारिनले पनि अहिले क्युवामा ५२ प्रतिशत महिलाहरुको प्रतिनिधित्व नीति–निर्माण तहमा रहेको स्मरण गराउँदै महिलाहरुलाई अझै सक्रिय बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
उहाँले नेपालमा पनि महिला प्रतिनिधित्वका लागि एमालेले खेलेको भूमिका सकारात्मक रहेको भन्दै उहाँले स्वास्थ्य र खेलकुदका क्षेत्रमा नेपालसँग सहकार्य गर्न आफूहरु सकारात्मक हरेको जानकारी गराउनुभयो । उहाँले नेपाल–क्युवाबिचको सम्वन्ध सकारात्मक रहेको भन्दै थप मजवुद बनाउन र थप सहकार्यका लागि तयार रहेको पनि स्मरण गराउनुभयो ।
भेटमा सचिव डाक्टर शाक्यसँगै मानवअधिकारवादी नेता सुवोध प्याकुरेल, युवा संघका पूर्व अध्यक्ष किरण पौडेल, युवा संघका अध्यक्ष क्षितिज थेवेलगायतको पनि सहभागिता थियो ।