दाङमा उत्पादित मह बिक्री नभएपछि किसान चिन्तित
दाङ, १४ वैशाख । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । उत्पादित मह बिक्री नभएपछि किसान चिन्तित बन्न थालेका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन । उहाँ मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा पर्नुभएको छ ।
त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गर्नुभएको छ टन मह मध्ये साढे दुई टन मात्रै बिक्री गर्नुभएको छ । उहाँले भन्नुभयो, “साढे तीन टन मह थन्काएर राखेको छु ।” उहाँहरु त उदाहरण मात्रै हो ।
भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । “बिना भन्सार भारतबाट मह आउँछ”, किसान शर्माले भन्नुभयो, “भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन ।”
विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ ।
बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ, तर, त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किन्ने गरेको किसानको गुनासो छ ।
जिल्लामा हाल पाँच सय हाराहारीमा मौरी पालक किसान छन् । किसानको सङ्ख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताउनुभयो । दाङमा मात्रै करिब दुई सय टनभन्दा बढी मह बिक्री नभएको उहाँले बताउनुभयो ।
मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् । जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे । मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताउनुभयो । किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ । यस वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।