अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई सात अर्ब ऋण दिने

काठमाडाैं, १९ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण दिने भएको छ ।

नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि नेपाललाई उक्त ऋण दिने भएको हाे ।

आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको छ । मुद्रा कोषको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो ।

पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्रा कोषले जनाएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले आएमएफमार्फत इसिएफ ऋण सहायता लिने प्रक्रिया थालेको थियो ।

गत वर्ष अर्थात् सन् २०२२ जनवरी १२ तारिखमा आइएमएफको कार्यकारी समितिले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडिआर) का रुपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो ।

सहुलियतपूर्ण ऋणको कोटामा नेपालले एक सय ८० प्रतिशतसम्म ऋण लिएको छ । त्यस्तो, सहुलियतपूर्ण ऋणमध्ये अमेरिकी डलर ११ करोड बराबर आइएमएफले गत वर्ष जनवरीमै निकासा दिएको थियो ।

हाल निकासा दिन लागिएको पाँच करोड २८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौताअन्तर्गतको अर्को किस्ता हो । नेपालले बजेट फाइनान्सिङका रुपमा प्रयोग गर्न पाउने गरी ३८ महिनाको वित्तीय सहायता प्याकेजका रुपमा आइएमएफले यस्तो सहुलियतपूर्ण ऋण सुविधा नेपाललाई दिएको हो ।

नेपालले यसअघि सन् २०२० मे महिनामा आइएमएफमार्फत र्यापिड क्रेडिट फेसिलिटी (आरसिएफ) का रुपमा अमेरिकी डलर २१ करोड ४० लाख बराबर ऋण लगिसकेको छ ।

इसिएफमार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षाका क्रममा नेपालको आर्थिक वृद्धिदरमा सङ्कुचन रहेको तथा आन्तरिक र बाह्य क्षेत्र समेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमहरुको प्रभाव अर्थतन्त्र देखिन थालेको आइएमएफले उल्लेख गरेको छ ।