अरुण तेस्रोमा कार्यरत एक मजदुरको ढुङ्गा खसेर मृत्यु, दुईजना घाइते

सङ्खुवासभा, २० वैशाख । सङ्खुवासभामा निमार्णाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।

घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।