नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडाैं, २४ वैशाख । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक घटेर बन्द भएको हाे ।

यस दिन नेप्से परिसूचक १९.१२ अंक घटेर १८५०.६२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६३ स्टकको २३ हजार ५१ पटकको कारोबारमा ६० करोड ८१ लाख रुपैयाँ बराबरको २० लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.२२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ।

यस दिन एनएमबि बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ८.८३ प्रतिशत घटेको छ। यसै दिनदेखि कारोबारमा आएको मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। अन्य स्टकहरुको कारोबार रकम भने २ करोडभन्दा कम रहेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ।