नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणसमेत संलग्न भएको कारणले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बदनाम

काठमाडौं, २७ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका मा पठाउने प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बदनाम भएको बताइएको छ ।

वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले मैत्री न्यूजसँगको कुराकानीमा भन्नुभयो, ‘यो अब राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बदनाम गरेको छ ।’

उहाँका अनुसार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भुटानी पक्षले झापाका विभिन्न शरणार्थी शिविरमा बसिरहेका सबै शरणार्थी भुटानी होइनन्, त्यसमा नेपाली लगायत अन्य देशका नागरिकहरू पनि मिसिएका छन् भनेर आरोप लगाएका थिए । नेपालले त्यसको खण्डन गर्दै आइरहेको छ ।

त्यस्तै यो प्रकरणमा तत्कालीन गृहमन्त्री (बालकृष्ण खाँण) समेत संलग्न भएको कारणले नेपालको गृह प्रशासन समेत विश्वसनीय नभएको प्रमाणित हुने उहाँले बताउनुभयो ।
‘नेपालको गृह मन्त्रालय आफ्नो सुरक्षासँग सम्बन्धित गोप्य सूचनाहरू विदेशतिर चुहाउँछन् भन्ने अन्तर्राष्ट्रिय आरोप छ । अब त्यसलाई पनि यसले पुष्टि गरिदियो,’ श्रेष्ठले बताउनुभयो ।

त्यसैले यो प्रकरणका कारण अन्तर्राष्ट्रिय रुपमै बिग्रिएको आफ्नो छबी सुधार गर्ने हो भने नेपालले अन्तर्राष्ट्रियस्तरकै छानबिन समिति गठन गरी यसको सत्यतथ्य विश्वका सामु राख्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।