अफ्रिकन ‘स्वाइन फिवर’बाट बागलुङमा चार सय बङ्गुर मरे

बागलुङ, १९ जेठ । बागलुङका किसान अफ्रिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि चिन्तित भएका छन् ।

बागलुङका किसान अफ्रिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएकाले चिन्तित बनेका हुन् ।

बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताउनुभयो ।

“केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उहाँले भन्नुभयो, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौँ, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ ।”

बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएकामा अहिले धमाधम बङ्गुर मर्न थालेपछि किसानलाई रु दुई करोड बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताउनुभयो । “बङ्गुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो भएको थाहा थिएन, पहिलोपटक बङ्गुर मर्न थाले अहिले मेरै खोरमा १५ वटा बङ्गुर मरिसकेका छन्”, उहाँले भन्नुभयो, “दैनिक खोर रित्तिँदै गएपछि मजस्ता किसानको उठिबास लागेको छ ।”

यस क्षेत्रका ५४ किसानले पालेका तीन सय ९२ वटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

किसानले पालेका बङ्गुर तथा सुँगुर एक्कासि मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना सङ्कलन गरिएको भए पनि अहिले मरिरहेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

“लक्षण पूरै ‘अफ्रिकन स्वाइन फिभर’को देखिएको छ, बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक किसानले पालेका बङ्गुरको परीक्षण गर्दा गत पुसमा मात्रै ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखापरेको थियो”, उहाँले भन्नुभयो, “मरेका ४० बङ्गुरबाट नमूना सङ्कलन गरी पोखरा पठाइएको छ, किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागिपरेका छौँ ।”

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचारसमेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ । रोगी बङ्गुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ ।

अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत, भूटानमा पनि देखापरेको थियो ।