तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार
तनहुँ, २८ जेठ । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था गर्न यातायात समितिलाई पत्राचार गरेको छ ।
व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो ।
जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ ।”
सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उहाँले बताउनुभयो । जथाभावीरूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक रु तीन हजार र दोस्रोपटक रु सात हजारसम्म जरिवाना गरिने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो । नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य–मुख्य भागमा जथाभावी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।
व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उहाँले बताउनुभयो ।
साथै जथाभावी चोक–चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।
व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ । नगरपालिकाले चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ ।