मेयर बालेनको उदण्ड शैलीबाट कायल भएर सल्लाहकारबाट राजिनामा दिएँः रेशु अर्याल

काठमाडौं, ६ असार । गत भदौमा काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा नियुक्त हुनुभएकी रेशु अर्यालले राजिनामा दिनुभएको छ । काठमाडौंँ महानगरपालिकाका मेयर बालेन साहको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उहाँले राजिनामा दिनुभएको हो । सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गर्नु भएकी अर्यालले सामाजिक अभियन्ताको छवि बनाउनु भएको थियो ।

सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई प्रतिष्ठित पुरस्कारबाट समेत सम्मान गरेको थियो । टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य अर्यालले मैत्रिन्युजसँग कुराकानी गर्दै आफूले एकैचोटि राजिनामा दिएको भन्दा पनि लामो श्रृखलापछि राजिनामा दिएको जानकारी दिनुभयो ।

‘समाजप्रतिको निर्णय लिने तरिकाहरुमा मेरो विमती रहँदै आएको थियो,’ उहाँले भन्नुभयो, ‘राउण्ड टेवलमा बसेर कुनै पनि विषयमा छलफल गर्ने भन्दा पनि उदण्ड शैलीले काम गर्ने उहाँ (मेयर बालेन साह) को तरिकाप्रति मेरो असन्तुष्टि हो,’ ‘पछिल्ला केही घटनमा पनि उहाँले सल्लाह गर्ने भन्दा पनि नगर प्रहरी परिचालन गरेर डर, धम्की र त्रासको वातवरण सिर्जना गर्ने काम गर्नुभयो । त्यस्तो कुराप्रति मेरो असाध्यै धेरै विमति छ ।’

धाक–धम्कीको राजनीति लोकतन्त्रका लागि सुहाँउदो नभएको अर्यालको ठहर छ । ‘जनताले चलाएको सानो होस् या ठूलो व्यवसायमा नै किन नहोस् धाक–धम्की दिएर मात्रै हुँदैन,’ अर्यालले भन्नुभयो, ‘महानगपालिका भित्र सुशासनका लागि धेरै काम गर्नुपर्ने छ । भ्रष्टाचार नियन्त्रणमा पनि धेरै कुरा गर्नुपर्ने छ । काम गर्नुपर्ने चाँहि त्यतातिर हो । तर, उहाँ आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर ठूला–ठूला राजनीतिक आह्वानमा रमाउन थाल्नुभयो ।’

मेयर साहमा लोकतान्त्रिक अभ्यास कम र एकाङ्की शैली हावी हुँदै गएकाले पनि सँगै बसेर काम गर्न नसकेको अर्यालको भनाई छ । ‘कुनै पनि विषयमा छलफल नगर्ने अनि उहाँले सामाजिक सञ्जालबाट सूचना सार्वजनिक गरेपछि मात्रै थाहा हुने तर व्यवसायीहरुले आफ्नो हातमा सूचना नपाउने कुरा लोकतान्त्रिक शैली होइन,’ अर्याल भन्नुहुन्छ, ‘त्यसो हुँदा कानुनी र वैधानिकतामाथि नै प्रश्न उठ्ने समस्याहरु थपिदैँ गएकाले मैले बसिरहन उचित देखिन ।’

सबै जनासँग बसेर यसरी–यसरी अघि बढ्न सकिन्छ है भन्ने भयो भने मात्रै त्यसले सार्थकता पाउने उहाँको बुझाई छ । ‘तर, उदण्ड शैलीमा नगरप्रहरीलाई अघिपछि लगाएर आत्मकेन्द्रित बढी हुने माहोल बढ्दै गएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो पनि सकारात्मक कुरा होइन । सन्तुलन मिलाएर काम गर्नुपर्छ भन्ने मेरो शैलीसँग उहाँको काम गर्ने तरिका नमिलेपछि मैले राजिनामा दिएको हो । मैले धेरै वर्ष गाउँको शिक्षाका लागि काम गरेँ । म आफैँ नगरवासी पनि हुँ । टिच फर नेपालमा बसेर काम गर्दा मलाई शिक्षाको रुपान्तरणका लागि देशैभरी काम गरेको अनुभूति मैले गरेकी थिएँ ।’

काठमाडौंँसँग असाध्यै धेरै जोडिएको भएर महानगरपालिकामा स्वतन्त्र युवा आउँदा निकै उर्जा बोकेर काम गर्न आएको भए पनि त्यो नभएको उहाँको बुझाई छ ।

‘महानगरपालिका क्षेत्रभित्रको शिक्षाका लागि युवाले नेतृत्व गरेको अवस्थामा शिक्षाको रुपान्तरणका लागि धेरै काम गर्न सकिन्छ भन्ने उर्जा लिएर आएकी थिएँ,’ निरास हुँदै अर्यालले भन्नुभयो, ‘तर, नेतृत्वले सोच, विचारसहित काम नगर्दा कता तान्दा कता फुस्किए जस्तो अवस्था भयो । मेरो सबै भन्दा बढी विमति रहेको भनेको सुशासन महानगर बाहिर मात्रै खोज्ने कुरामा हो । काठमाडौंँ महानगरपालिकाले २४ अर्वको बजेट ल्याउने अनि महानगरपालिकाका जनताले सुशासन नपाउने भन्ने हुँदैन । सुशासनमा उहाँको ध्यान गएको देखिएन । नियमन गर्ने नाममा उदण्डता उचित हुँदैन भन्ने मेरो बुझाई हो ।’