पशुपतिमा जंगबहादुरकी श्रीमतीसँग सम्बन्धित गंगामाईको जात्रा सम्पन्न
काठमाडौं, ११ जेठ । पशुपति क्षेत्रमा मनाइने गंगामाईको जात्रा हिजो सम्पन्न भयो । हरेक वर्ष हिजोकै दिन सम्पन्न गरिने यो जात्रा पशुपतिको वज्रघरबाट शुरु हुन्छ । त्यसपछि नगरका विभिन्न स्थान परिक्रमा गरी समापन गरिन्छ ।
पशुपतिनाथ मन्दिरको पूर्वतिर बागमती नदी तटमा गंगामाईमा समर्पित गुम्बज शैलीमा बनेको मन्दिर रहेको छ । उक्त मन्दिर भित्र सङ्गमर्मरबाट निर्मित गंगा माताको मूर्ति छ ।
स्थानीयवासीका अनुसार यो मन्दिर गंगा रानीले बनाएकी हुन् । जंग बहादुरकी एउटी श्रीमतीको नाम गंगादेवी रहेको र उनले आर्यघाट पारी गंगेश्वरी नामको शिवालय बनाएका कारण सम्भवतः यो मन्दिर उनै गंगादेवीले निर्माण गरेकी हुन् /
गंगामाई जात्रा पशुपति क्षेत्रको मौलिक जात्राको रुपमा विद्यमान छ । पशुपति क्षेत्रबाट निकालिने जात्राहरू मध्ये रथ नै तानेर गरिने यो एक मात्र जात्रा हो । अन्य जात्रामा खटहरुको प्रयोग हुने गरे पनि यस जात्राका लागि भने काठको ठूलो पाङ्ग्रा सहितको रथ तयार गरिन्छ ।
राज्यमा वर्षभरि अतिवृष्टी, अनावृष्टी जस्ता कुनै पनि प्राकृतिक प्रकोप नपरोस् भन्ने उद्देश्यले यो जात्रा संचालन गरिएको हो भन्ने जनविश्वास रहेको छ ।
बज्रघरबाट शुरु हुने यो जात्रा पञ्चदेवल पूर्व (वृद्धाश्रमको पूर्व) बाट वनकाली, गौशाला, जयवागेश्वरी, नवाली टोल हुँदै ताम्रेश्वर महादेव मन्दिर पुग्दछ । त्यसपछि पशुपतिनाथको दर्शन तथा ठक्कर लगाई (मिलन गराई) रथलाई पुनः बज्रघरमा फिराई जात्रा समापन गरिन्छ ।