रत्नपार्कस्थित शहरी सेवाकेन्द्रमा रहेका व्यवसायीहरूकाे सटर महानगरपालिकाद्वारा बिना अनुमति भत्काइए

काठमाडाैं, १७ असार । काठमाडौं महानगरपालिकाद्वारा संचालित रत्नपार्कस्थित शहरी सेवाकेन्द्रमा व्यवसायीहरूकाे सटर शुक्रबार महानगरले बिना अनुमति भत्काएका छन् ।

महानगरपालिकाद्वारा संचालित शहरीसेवा केन्द्रकाे उक्त सटरमा व्यवसायीहरूले भाडामा लिएर विभिन्न व्यवसाय संचालन गर्दै आइरहेका थिए ।

शहरी सेवाकेन्द्रकाे उक्त सटर भाडामा लिएर व्यवसायीहरू विना श्रेष्ठले किराना, हाेम खडकाले फेन्सी, रमेश चाैलागाइले फेन्सी र बिक्रम कटवालले जुत्ता पसल संचालन गर्दै आइरहेका थिए ।

शहरीसेवा केन्द्र महानगरपालिकाले २०७३ साल भदौ १ गते लाम्पनटार सिन्धुली स्थायी घर भएका माधबप्रसाद काफ्लेलाई पाँच वर्षका लागि करार सम्झौता अनुसार संचालन गर्न दिएका थिए ।

पाँच वर्षको करार सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै साउन १ गते काठमाडौ महानगरपालिकाले कि करार सम्झौता थप गर्नु पर्ने कि त करार सम्झौता खारेज गरी अर्काे ठेक्का लगाउनुपर्ने थियाे तर ठेक्का लिएका माधबप्रसाद काफ्लेले व्यवसायीहरूलाई केहि सूचना नदिइ मंसिर सम्मै भाडा उठाएर त्यतिकै व्यवसायीहरूकाे सटरमा ताला लगाइदिएपछि व्यवसायीहरूकाे लाखाैं रूपैयाँकाे सामान हालसम्मै सटरमै बन्धक बनेकाे थियाे ।

काठमाडौं महानगरपालिकाकाे स्वामित्वमा संचालन भएकाे शहरी सेवाकेन्द्रकाे सटर एक्कासी बिना जानकारी शुक्रबार भत्काएपछि व्यवसायीहरूकाे सामान हराएका छन् भने लथालिङ्ग भएका सामान त्यतै छाेडेका छन् ।

व्यवसायीहरूले आफुहरूलाई कुनै सूचनानै नदिइ भत्काएपछि आइतबार महानगरपालिका र २८ नंवर वडा कार्यालय पुगेपनि सहि सूचना नपाएकाे भन्दै न्यायका लागि अदालत जाने बताएका छन् ।