भक्तपुरमा पनि बर्डफ्लू भेटियाे, दुई नगरपालिकामा ४८ हजार बढी कुखुरा नष्ट
भक्तपुर, ११ असार । भक्तपुरका दुई नगरपालिकामा पक्षीमा लाग्ने ‘बर्डफ्लू’ संक्रमण पुष्टि भएपछि ठूलो संख्यामा कुखुरा नष्ट गरिएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका विभिन्न पोल्ट्री फार्ममा बर्डफ्लू देखिएपछि प्रशासनले सतर्कता अपनाउँदै कुखुरा नष्ट गरेको हो।
पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार हालसम्म जिल्लाभर ४८ हजार १७३ वटा कुखुरा नष्ट गरिसकिएको छ। संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रका फार्महरूमा रहेका कुखुरा मारिएको उहाँले जानकारी दिनुभयो।
तथ्यांक अनुसार सबैभन्दा बढी चाँगुनारायण नगरपालिकामा कुखुरा नष्ट गरिएको छ। चाँगुनारायणको वडा नं. २, ८ र ९ मा रहेका फार्महरूबाट ३८ हजार ७९५ वटा कुखुरा नष्ट गरिएको छ। यस्तै, सूर्यविनायक नगरपालिकाको वडा नं. १, ४ र ८ मा गरी ९ हजार ३७८ वटा कुखुरा नष्ट गरिएको डा. श्रेष्ठले बताउनुभयो।
बर्डफ्लू पुष्टि भएका फार्महरूलाई केन्द्रविन्दु मानी वरपरका क्षेत्रमा समेत निगरानी बढाइएको र जैविक सुरक्षा अपनाउन किसानहरूलाई आग्रह गरिएको पशु सेवा कार्यालयले जनाएको छ। अचानक ठूलो संख्यामा कुखुरा मर्न थालेपछि गरिएको नमुना परीक्षणमा बर्डफ्लू पुष्टि भएको थियो।