भेनेजुएलामा शक्तिशाली दुई भूकम्प, राजधानीका दर्जनौं संरचनामा क्षति

भेनेजुएलामा बुधबार साँझ लगातार दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहित विभिन्न क्षेत्रमा व्यापक क्षति भएको छ। भूकम्पका कारण दर्जनौं भवनहरू भत्किएका छन् भने उद्धार कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा पर्ने मोरोन क्षेत्र आसपास रहेको बताइएको छ।

भूकम्पपछि राजधानी काराकासका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको र हजारौं मानिस घर छाडेर सडकमा निस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही स्थानमा बहुमंजिला भवनहरू आंशिक रूपमा ध्वस्त भएका छन्।

भेनेजुएला सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै सेना, प्रहरी र स्वास्थ्यकर्मीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरेको छ। अस्पतालहरूलाई थप बिरामीको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

USGS ले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। यद्यपि समाचार तयार पार्दासम्म मृतक र घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

भूकम्पको धक्का छिमेकी कोलम्बिया सम्म महसुस गरिएको थियो। प्रारम्भिक रूपमा क्यारिबियन क्षेत्रमा सुनामीको चेतावनी जारी गरिए पनि पछि त्यसलाई फिर्ता लिइएको छ।

विशेषज्ञहरूका अनुसार यी भूकम्पहरू भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशालीमध्येका हुन्। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन् भने परकम्पनको जोखिम अझै कायम रहेको अधिकारीहरूले बताएका छन्