काठमाडाैं महानगरपलिकामा सबैभन्दा धेरै आगलागीका घटना
काठमाडाैं, २० असार । काठमाडौं महानगरपलिकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जानाएको छ ।
महानगरपलिकाका अनुसार तीन सय ९९ विपद्का घटनामा एक सय ६२ आगलागीका घटना भएका भएकाे हाे ।
कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले कामपा क्षेत्रभित्र ग्यास चुहाव भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका घटना बढी भएकाे बताउनुभएकाे छ ।
उहाँका अनुसार विद्युत् चुहावट भएर १०८, जल उत्पन्न प्रकोपको कारण २३, अन्य विविध विपद्का १०६ घटना घटेको बताउनुभएकाे छ ।
विगतको वर्षहरुमा भन्दा यस वर्ष विपद्को घटना बढ्ने अनुमान कामपाले गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रकारका गरी ३५५ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रुपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।
त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिन्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रुपमा नफेर्दा आगोजन्य विपद्का घटना बढिरहेको उपरीक्षक जोशीको भनाइ छ । कामपाले आगामी आर्थिक वर्षको लागि विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण खरिद गर्नका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ ।
आगामी आवकै लागि कामपाले विभिन्न स्थानमा वर्षादकाे समयमा हुने डुबान न्यूनीकरणका लागि “डुबान समाधान” स्वर्णीम कार्यक्रममार्फत खर्च गर्न सक्नेगरी रु चार करोड रकम छुट्याइएको छ । केहीवर्ष अघिसम्म ढलमा परेर बालबालिकोको ज्यानैसम्म जाने गरेको उल्लेख गर्दै उपरीक्षक जोशीले अहिले ढलको कारण खासै समस्या नभएको बताउनुभयो ।