कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट महिला घाइते
कञ्चनपुर, २९ असार । कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।
बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिनुभयो ।
उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।
सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगिएकाे वडाध्यक्ष रानाले बताउनुभयाे । “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।