एमालेको ६ बुँदे प्रस्तावः काँक्रो चोरेर बिया अरूको गालामा टाँसिदिने छलकपटमा सरकार लागेको आरोप
काठमाडौं, ३० असार । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले ६ प्रस्ताव पारित गरेको छ। प्रस्तावमा कोशी प्रदेश भङ्ग गरी सरकारगठनको संविधानसम्मत प्रक्रिया थाल्न माग गरेको छ ।
संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन भन्दै सभामुखले दलीय आबद्धताबाट अलग हुने प्रचलन रहेको एमालेले स्मरण गराएको छ । सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको पनि एमालेले ठहर गरेको छ ।
त्यसैगरी एमालेले देशैभरी फैलिएको लम्पी स्किन रोगबाट ७ लाख ६४ हजार बढी चौपाय संक्रमित र २७ हजार बढी चौपायको मृत्यु भएको भन्दै पशु बिमा गरेका र अन्य किसानले राहत नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै मिटरव्याज सम्वन्धि विधेयक निक्रिय भएको भन्ने विषयमा सरकारले एमालेललाई आरोप लगाएको विषयलाई पनि एमालेले गम्भीर रुपमा लिएको छ । एमालेले सरकारकै कारण विधेयक निक्रिय अवस्थामा पुगेको भन्दै आफूले ‘काँक्रो आफूले चोरेर वियाँ अरुको गालामा टाँसिदिने’ खालको प्रवृत्ति सरकारले देखाएको भन्दै त्यसमा पनि ध्यानाकर्षण गराएको छ ।
विश्वविद्यालयमा भएको तालबन्दी र शिक्षक प्राध्यापकहरुमाथि भएको दुव्र्यवहारप्रति पनि ध्यानाकर्षण भएको एमालेले उल्लेख गरेको छ । विभिन्न स्वायत्व र गैरराजनीतिक संस्थाहरुमा भएको हस्तक्षेपको पनि विरोध गरेको छ ।