कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकका विभिन्न भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशका पनि एक-दुई स्थानमा पानी परिरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ । तराईका जिल्लाहरूमा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने बुलेटिनमा उल्लेख छ ।
राति पनि देशभर पूर्ण बदलीकै अवस्था रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन भनिएको छ ।